Breaking News.... EverestOnlineKhabar
June 19, 2026

दिल्लीबाट फर्किएलगत्तै देउवाले भनेः‘देशको शिर झुकाएको छैन, ठाडो पारेको छु’

Loading

काठमाडौ,१२ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भारत भ्रमण अत्यन्तै सफल भएको दाबी गरे । दिल्लीमा उनले फेरि संविधान संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएपछि स्वदेशमा भने आलोचना भइरहेको छ । यसबारे पत्रकारको जिज्ञासामा देउवाले भनेः‘मैले देशमा भएको यथार्थ कुरा भनेको छु। कुनै नराम्रो कुरा बोलेको हैन,मेरो कुरालाई अतिरञ्जित बनाईयो।’
सत्ता साझेदार दलले समेत आलोचना गरिरहेको बेला उनकै पार्टी नेपाली कांग्रेसले भने उक्त अभिव्यक्तिमा‘रणनीतिक’ महत्व रहेको दाबी गरेको छ । दुई देशबीच आपसी सम्बन्धमा विश्वास कायम गरी राष्ट्रहितमा प्रयोग गर्ने नै भ्रमणको मुख्य उद्देश्य रहेको भन्दै देउवाले त्यसमानेमा आफ्नो भ्रमण सफल भएको बताए । सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयासस्वरुप अघि बढाइएको र यही विषयलाई आफूले भारतमा उठाएको प्रधानमन्त्री देउवाले बताए । उनले अगाडी भनेः‘अरुले भनेजस्तो शिर निहुराएको हैन, मैले बरु नेपालको शिर ठाडो पारेको छु ।’
भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचार संहिता बन्नुपर्ने धारणा समेत उनले राखे ।‘के बोल्ने भनेर मैले सोधेर जाने ? केही पनि बोल्न नपाउने ? कि आचारसंहिता बन्नुपर्यो ।’ उनले भने ।
४८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै देउवा गत बुधबार नयाँदिल्ली गएका थिए । उनी नेपाल एयरलाइन्सको विमानबाट राति करिब साढे आठ बजे काठमाडौं ओर्लिएका थिए ।
भ्रमणका क्रममा बाढी तथा डुबानको समस्याको शीघ्र समाधान गर्न आफूले भारत सरकारसँग गम्भीरतापूर्वक कुरा राखेको भन्दै प्रधानमन्त्री देउवाले सिमा क्षेत्रमा हुने बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानको दिशामा विज्ञहरुको समूहले संयुक्त निरीक्षण गरी तत्काल उपयुक्त उपाय अपनाउने सहमति भएको जानकारी दिए । डुबानका विषयमा भारतको बिहार राज्यका मुख्यमन्त्रीसँग पनि कुरा राखेको उनको भनाई थियो ।
प्रधानमन्त्री देउवाले लामो समयदेखि अल्झिएर बसेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्र टुङ्ग्याउने सहमति भएको पनि जानकारी दिए । उक्त आयोजनाबाट नेपालले पाउने लाभलाई सुनिश्चित गर्दै यो प्रक्रियालाई टुङ्गोमा पुर्याइने उनले बताए । प्रधानमन्त्री देउवाले धेरै वर्षदेखि कार्यान्वयनमा आउन नसकेको टनकपुर बाँध हेड रेगुलेटर एवं नेपाल सीमासम्म भारतले निर्माण गर्नुपर्ने लिङ्क नहरको डीपीआरलाई भारतीय पक्षबाट अन्तिम रुप दिइएको जानकारी प्राप्त भएको पनि बताए । देउवाले भारत भ्रमणको क्रममा राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गरेका थिए । मोदीसँग भेटवार्ता भएपछि नेपाल र भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed