![]()
काठमाडौ,७ भदौ ।
संसद् र प्रमुख प्रतिपक्षी दललाई छलेर प्रधानमन्त्री देउवा भारत भ्रमण जान लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँधका कारण नेपालको तराईमधेस भूभगाग डुबानमा परेको भन्दै त्यसबारे भारतसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्। उनका अनुसार भारत भ्रमणबारे प्रधानमन्त्रीले संसद् र एमालेलाई जानकारी गराएका छैनन् ।
प्रधानमन्त्री देउवा बुधबार ५ दिने भ्रमणका लागि भारत जाँदैछन् । मंगलबार संसद्मा सम्बोधन गर्दै ओलीले भनेः‘संसद्लाई पनि जानकारी नदिई प्रधानमन्त्रीको भारत भ्रमण हुँदैछ, यो उपेक्षाभाव देखियो, यो दुःखद कुरा हो ।’ सदन र प्रमुख प्रतिपक्षलाई जानकारी गराउने र राय लिने यसअघिको प्रचलनसमेत देउवाले तोडेको आरोप ओलीले लगाए ।
ओलीले संसद्बाटै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीलाई आधा दर्जनभन्दा बढी सुझाव दिए । उनले तराई डुबान हुनुको एक कारणमध्ये भारतले सीमावर्ती र दसगजा क्षेत्रमा एकतर्फी बनाएका बाँध भएको निष्कर्ष सुनाए ।


