Breaking News.... EverestOnlineKhabar
June 19, 2026

मानव तस्करको सेटिङमा खेलाडीका रुपमा रूस जान लागेका १४ जना फिर्ता

Loading

काठमाडौ,७ भदौ ।
मानव तस्करको सेटिङमा फसेर खेलाडीका रूपमा रुस हिँडेका १४ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएको छ । काठमाडौंस्थित रसियाली दूतावासबाट प्रवेशाज्ञा (भिसा) पाएका उनीहरूलाई विमानस्थल अध्यागमन कार्यालयले साउन २५ मा फिर्ता गरेको हो । मानव तस्करले जनही कम्तीमा ३ लाख लिई ती युवालाई मस्को पुर्‍याउन सेटिङ गरेको स्रोतले बतायो ।
मस्को पुगेपछि उतैका मानव तस्करलाई थप रकम दिएर अन्य युरोपेली देश छिराउने सर्त थियो । अध्यागमनले ती युवासँग राष्ट्रिय खेलकुद परिषद्को पत्र नभएपछि अपलोड गरेको हो । विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख दीपक नेपालले भनेः‘उनीहरूले खेलाडी भएको प्रमाण जुटाउन नसक्दा र यात्रासमेत शंकास्पद देखिएपछि फिर्ता गरिएको हो ।’
यसैबीच, काठमाडौंस्थित रसियाली दूतावासका एक अधिकारीले चाहिँ सबै कागजात परीक्षण गरेपछि मात्र १४ जनालाई भिसा दिएको दाबी गरे ।‘नक्कली निमन्त्रणामा हामीले कसैलाई पनि भिसा दिएको छैन । कागजपत्र रुजु गरेपछि मात्र भिसा दिएका हौं,’ काठमाडौंस्थित रसियाली दूतावासका एक अधिकारीले भनेः‘योभन्दा बढी हामीले बोल्न मिल्दैन । अरू कुरा राष्ट्रिय खेलकुद परिषद् र अध्यागमन विभागसँग बुझ्नुहोला ।’
राष्ट्रिय खेलकुद परिषद्का प्रेस सल्लाहकार रोहित दाहालले हालसाल रसियामा कुनै पनि खेलका लागि अनुमति नदिएको बताए । अध्यागमन जाँचका क्रममा ती १४ जना अक्क न बक्क परेका थिए ।
अध्यागमनले फिर्ता गरेका नक्कली खेलाडीमा ललितपुरका दिनेश बजगाईं, म्याग्दीका रामबहादुर, बुद्धिबहादुर पुर्जा, प्रवेश स्युथानी र राजन स्युथानी, रुपन्देहीका सन्तोष क्षत्री, दोलखाका सञ्जीव केसी, गुल्मीका सन्देश थापा, रामेछापका दिनेश भुजु र दीपक आले, काभ्रेका सानी लामा र छिरिङ तामाङ, दाङका सुमन कुमाल र कैलालीका रितेश विश्वकर्मा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed