![]()
काठमाडौ,४ भदौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन्। सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध–तटबन्धका कारण तराई–मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख–कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग भारतसंग कुरा गर्न डराएको भन्दै असन्तुष्टि पोखेकी हुन् ।
आफूसँग परामर्शका लागि शनिबार शीतलनिवास आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति भण्डारीले बाढी आउँछ, जनताले दुःख पाउँछन्, राहत बाँडेर बस्नुपर्ने बाध्यता छ। डुबान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ? भन्दै प्रश्न गरेको स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीसँगको परामर्शमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए।राष्ट्रपति भण्डारीले तराई–मधेसको बाढीपहिरो, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, मुलुकको विद्यमान राजनीतिक अवस्थालगायत विषयमा नेताहरूसँग परामर्श गरेको बैठकपछि नेताहरुले प्रतिक्रिया दिएका छन् ।
छिमेकीले बनाएका बाँध, तटबन्ध, नहर, सडकले नेपालको दक्षिण भूभाग डुबानमा पर्ने गरेको भन्दै आफ्नो भूभागलाई डुबानबाट बचाउने नीति तय गर्नसमेत उनले शीर्ष नेतृत्वलाई आग्रह गरेकी थिइन्।


