![]()
काठमाडौ,४ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ताका लागि पशुपतिशमशेर राणा समूहले आवश्यक केन्द्रीय सदस्य र सांसद संख्या पुर्याएको छ। राप्रपा प्रजातान्त्रिकले २२ साउनमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुरूप आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद संख्या आफूहरूले पुर्याएको राप्रपा प्रजातान्त्रिकले जनाएको छ ।
निर्वाचन आयोगको अभिलेखमा राप्रपा केन्द्रीय समितिको संख्या १५६ सदस्यीय छ। त्यसको ४० प्रतिशत पुर्याउन ६२ सदस्य आवश्यक पर्नेमा आफूहरूसँग ६४ जना पुगिसकेको राप्रपा प्रजातान्त्रिकको दावी छ । आयोगले राप्रपा प्रजातान्त्रिकलाई आइतबार दल दर्ताका लागि आवश्यक पर्ने सनाखतसहित उपस्थित हुन निर्देशन दिएको थियो ।
आयोगका सहसचिव सुशील कोइराला र सहन्यायाधिवक्ता घनश्याम ओझाले ५६ केन्द्रीय सदस्यको हस्तक्षर सनाखत गरिसकेको दावी गरिएको छ । सो सनाखत २९ साउनमा राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई पठाएको पत्रले पुष्टि छ। त्यस्तै, सनाखत गर्न छुटेका पाँचजनाले आयोगमा आफैँ उपस्थित भएर राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेका लिखित निवेदन दिएका छन्। विदेशमा रहेका तीन केन्द्रीय सदस्यले आयोगलाई इमेल गरेर आफूहरू राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेको जनाएका छन्।
आयोगमा लिखित निवेदन दिने ६ जना
मोहनप्रसाद यादव, धर्मराज जोशी, रविन चाम्लिङ, रेखा थापा, गिरिधारीप्रसाद चौधरी, रामेश्वर थापा
इमेलमा सहमतिपत्र पठाउने तीनजना
रामकृष्ण भट्टराई, रामकुमार सुब्बा, आङनिमा शेर्पा
राणासँग भएका सांसद
दीपक बोहरा, विक्रम पाण्डे, सुनील थापा, रेशम लामा, बबिना मोक्तान लावती, रमेशकुमार लामा, परशुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, राजेश्वरीदेवी शाह, रामकुमार सुब्बा, आनन्दीदेवी पन्त, इस्तियाक अहमद खान, गीता सिंह, सरोज शर्मा, सीता लुइँटेल ज्ञवाली, लीलादेवी श्रेष्ठ, कमलादेवी शर्मा, विराज विष्ट
विचलित नहुन आग्रह
आकस्मिक रूपमा शनिबार बसेको राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति बैठकले नयाँ पार्टी गठनका लागि आवश्यक पर्ने केन्द्रीय सदस्य र सांसद पुगिसकेकाले विचलित नहुन नेता कार्यकर्तालाई आग्रह गरेको छ। विपक्षीले चलाएको भ्रममा नपर्न आग्रह गर्दै बैठकले निर्वाचन आयोगले तोकेको समयमा आफूहरूले आवश्यक सनाखत पुर्याउने बताएको छ।


