![]()
काठमाडौं । अनसनरत डा. गोविन्द केसीका समर्थकहरुले पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा प्रदर्शन गरेका छन ।
शिक्षण अस्पतालका चिकित्सक, रेजिडेन्ट डाक्टर तथा विद्यार्थीहरूले शिक्षण अस्पताल महाराजगञ्जदेख लाजिम्पाटसम्म नारा लगाउँदै प्रचण्ड निवासमा प्रदर्शन गरेका हुन । उनीहरूले ’कान खोली सुन, ओली देउवा प्रचण्ड, तिम्रो माफिया मोहले देश हुन्न सम्पन्न’, ’माफियाहरू देश घेर्दै, ६०१ के हेर्दै ?’, ’भ्रष्टाचारको अन्त्य गरौँ, सदाचारको सुरुवात गरौं’, लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा उत्रिएका केसीका समर्थकहरुसंग कुरा गर्दे अध्यक्ष प्रचण्डले आफू सधैँ केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका थिए । काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक भएको दाहालले बताएका थिए ।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा डा. केसीले उठाएका माग सम्बोधन गर्न सकारात्मक पहल गरेको तर कानुनी र प्रशासनिक जटिलताका कारण पूरा गर्न नसकेको बताएका थिए । अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पारेर अनसन तोडाउने उनले बताए ।


