![]()
काठमाडौं । राप्रपा विभाजन गरी राप्रपा (प्रजातान्त्रिक) गठन गर्नुभएका नेता पशुपति शमशेर राणाले केन्द्रीय सदस्य र सांसद सनाखत गराउने समय १० दिन थप्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि ५ बजेभित्र सांसद तथा केन्द्रीय सदस्यलाई सक्कल नागरिकतासहित उपस्थित गराएर ४० प्रतिशत देखाउन राप्रपा प्रजातान्त्रिकको नाममा पत्र लेखेको थियो । तर, राणाले पत्र आजमात्रै आफूले पाएको र निर्वाचन आयोगमै सबैलाई उपस्थित गराएर सनाखत गराउनै पर्ने भए समय लाग्ने हुँदा १० दिनको समयसीमा थप गर्न माग गर्नुभएको हो । यसका लागि उहाँले आयोगमा निवेदन दिनुभएको छ ।
राणाको पत्रमा यसअघि नै केन्द्रीय सदस्य र सांसदले सनाखत गराइसकेकाले पुनः सनाखत गराइरहनु अव्यवहारिक हुने पनि दाबी गर्नुभएको छ ।
राणाले यसअघि आयोगको रोहबरमा ६१ जना केन्द्रीय सदस्यको सनाखत भइसकेको र विदेशमा रहेका ३ जनाको पत्रसहित जम्मा ६४ जना केन्द्रीय सदस्यको दल दर्ता प्रयोजनका लागि सहमतिपत्र पेश भइसकेकाले त्यसैलाई आधिकारिकता प्रदान गरी दल दर्ता गरिनुपर्ने जिकीर गर्नुभएको छ ।


