![]()
ललितपुर। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाका भारत भ्रमणका एजेण्डा सार्वजनिक गर्नुभएको छ ।
ललितपुरमा शनिवार आयोजित अन्तक्रियामा राजदूत उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने बताउनुभयोय ।
उपाध्यायले भन्नुभयो, ‘विगतमा भएका सहमति र समझदारी कुन अवस्थामा रहेका छन् त्यो हेर्ने, पुनरावलोकन गर्ने तथा हुन सक्ने कुरालाई अलमल नगरी कार्यान्वयनमा लैजाने विषयमा गम्भीरतापूर्वक छलफल गरिनेछ ।’
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला उठाइने र सहमति हुने विषयवस्तुको कार्यसूचि बनाउने अन्तिम चरणमा रहेको बताउँदै उहाँले भारतको तर्फबाट राजनीतिक तहमा भ्रमणप्रति ठूलो सद्भाव रहेको जानकारी दिनुभयो ।
राजदूत उपाध्यायले अरुण तेस्रो, माथिल्लो कर्णाली र पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउने विषयमा पनि जानकारी दिनुभयो । उहाँले अरुण तेस्रोको शिलान्यास दुवै प्रधानमन्त्रीबाट हुनुपर्छ भन्नेमा सामाजिक र राजनीतिक तहबाट बल पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
पेट्रोलियमका अतिरिक्त प्राकृतिक र खाना पकाउने ग्यासको पाइपलाइन बिच्छ्याउने, जलमार्ग विस्तार गर्नेजस्ता विषयमा पनि छलफल हुने बताउँदै उहाँले सहमति गरी हाल्ने पछि पछुताउने जस्तो प्रवृत्ति अन्त्य गर्न विषयवस्तुमाथि गम्भीर छलफल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
राजदूत उपाध्यायले सुनौली नाकामा देखिएको समस्याका बारेमा भारतीय समकक्षीसँग कुराकानी गरेको र आफू आजै त्यही बाटो भएर दिल्ली जान लागेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवा भदौ ७ गते भारत भ्रमणमा जाने तयारी गरिएको छ ।


