Breaking News.... EverestOnlineKhabar
May 12, 2026

मेयर र उपमेयर महिला निर्वाचित हुने पहिलो महानगर बन्यो भरतपुर,निर्वाचित भएपछि के भनिन् मेयर रेणुले…

Loading

चितवन,२२ साउन ।
भरतपुर महानगरपालिका मेयर र उपमेयर दुबैमा पहिला निर्वाचित हुने पहिलो महानगरपालिका बनेको छ । मेयरमा कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहाल र उपमेयरमा सोहि गठबन्धनकी पार्वती शाह निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन्। अन्तिम मतपरिणामअनुसार उनले ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे। दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि परेका हुन्।
यसैगरी, भरतपुर महानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी पार्वती शाह विजयी भइन्। उनले ४७ हजार १९७ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरे।
मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गरेका ज्ञवाली वडा नं २० को मतगणना भइरहँदा पछाडि परेको थिए । वडा नं २० को गणना अन्तिममा गरिएको थियो ।
भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन ।
प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी हुन्। पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि गन्न बाँकी २० नं वडाको पनि गणना भएको थिएन । महानगरमा एकलाख ५० हजार २७४ मतदाता थिए ।
विजयी भएपछि प्रतिक्रिया दिँदै प्रमुख दाहाल भनिन्ः‘ म प्रचण्डको छोरी भएर चुनाव जितेको होइन्,आफ्नो क्षमताले चुनाव जितेको हुँ । मलाई न्याय दिएकोमा भरतपुर महानगरपालिकाका जनतालाई धन्यवाद । भरतपुरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाउने छु । जुन दलबाट उम्मेदवार भए पनि अब आफू साझा भएको र समृद्ध महानगर बनाउन सबै दलसँग हातेमालो गरेर अघि बढ्छु ।’
प्राकृतिक सम्पदाले धनी महानगरका स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिइने उनको भनाइ थियो ।
उपप्रमुखमा विजयी शाहले देशको मध्यभागमा रहेको महानगरलाई न्याय र समानताका लागि चिनाउने बताइन्। महानगरमा प्रमुख र उपप्रमुख दुवैमा महिला विजयी भएको भन्दै उनले महिला हक अधिकारका लागि कोही वञ्चित हुनु नपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.