Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पार्टी फुटाएरै भए पनि सरकारमा जाने राप्रपा राणा पक्षको तयारी….

Loading

काठमाडौ,२२ साउन ।
एकता भएको ८ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटको संघारमा पुगेको छ। राप्रपाको बरिष्ठ नेता पशुपतिशमशेर राणा समूह पार्टी फुटाउन हस्ताक्षर अभियान संकलनमा जुटेको छ। थापा समूहमा रहेका नेता रेशम लामाले क्याम्प फेर्दै राणा समूहमा आएर हस्ताक्षर अभियानको नेतृत्व गरेका छन्।
राप्रपाका दोस्रो तहका नेता जगत गौचन, सगुन लावती, केशर विष्ट, तारानाथ लुइँटेल खुलेरै हस्ताक्षर अभियानमा जुटेका छन् भने दीपक बोहरा, सुनिल थापा र विक्रम पाण्डेले‘ब्याक फोर्स’ मा बसेर हस्ताक्षर अभियानलाई सघाइरहेका छन्।
पार्टीमा ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरेर राणा पक्ष निर्वाचन आयोग जाने तयारीमा छ। अहिलेसम्म ३० जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको राणा समूहका एक नेताले सेतोपाटीलाई जानकारी दिए। १ सय ६३ जना केन्द्रीय सदस्य रहेको राप्रपामा पार्टी फुटाउन ६६ जना सदस्य आवश्यक पर्छ।
नेता लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ लगायत नेताहरु भने पार्टी फुटाउन नहुने पक्षमा छन्। उनीहरुले समस्या समाधानका लागि मध्यमार्गी भूमिका खेलिरहेका छन् । देउवा सरकारमा सहभागी नहुने निर्णय भएपछि राणा समूह पार्टी फुटाएरै भए पनि सरकारमा जाने तयारीमा जुटेको हो। राणाले रेशम लामासहितका नेताहरुलाई मन्त्री बनाइदिने आश्वासन दिएको स्रोतले बताएको छ।
पार्टी अध्यक्ष थापा भने देउवा सरकारले आफूहरुलाई सम्मानजनक स्थान नदिएको भन्दै सरकारमा जान नहुने अडानमा छन्। पार्टी एकता भएको देख्न नचाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्वले पार्टी फुटाउन पटक पटक नेताहरु उचाल्ने काम गरिरहेको अध्यक्ष थापाले बताउँदै आएका छन्।
कांग्रेसको एउटा समूह पनि पार्टी फुटाउन मरिहत्ते गरिरहेको थापा समूहको दाबी छ। पार्टी फुटाउन हस्ताक्षर अभियान सुरु भएपछि समस्या समाधानका लागि आइतबार राप्रपाका तीन जना नेता राणा, कमल थापा र लोकेन्द्रबहादुर चन्द छलफलमा जुट्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.