![]()
काठमाडौ,१ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मतभेद र असन्तुष्टि चुलिएपछि अध्यक्ष कमल थापाले त्यसको सम्पूर्ण दोष पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता दीपक बोहरामाथि थोपर्दै तत्काल नसच्चिए कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीभित्र बढेको द्वन्द्वबारे छलफल गर्न आएका केन्द्रीय सदस्य, सांसद र जिम्मेवार कार्यकर्तासँग थापाले बोहरालाई कारबाहीको चेतावनी दिएका हुन्।
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप बोहरामाथि छ। वरिष्ठ नेता पशुपतिशम्शेर राणालाई प्रयोग गरी पार्टी फुटाउने षड्यन्त्रको मियो नै बोहरा रहेको आरोप अध्यक्ष थापाले लगाएको जानकारी ती नेताले दिए। सांसदसमेत रहेका केन्द्रीय समिति सदस्य रेशमबहादुर लामाले पार्टीमा उत्पन्न परिस्थितिको जिम्मेवार अध्यक्ष थापा भएको बताउँदै केन्द्रीय समितिमा मनोनयन गरिएका ४२ जनाबारे पुनर्विचार गर्नुपर्ने बताए।
अर्का केन्द्रीय सदस्य एवं सांसद दिनेश श्रेष्ठले एकीकरणदेखि अहिलेसम्म निरन्तर मन्त्री बन्ने दाउमा रहेको चरित्रकै कारण पार्टी विभाजनको संघारमा पुगेको दाबी गरे। हामी निर्वाचित, हामीले निरन्तर मन्त्री पाउनुपर्छ भन्ने चरित्रले वरिष्ठ नेता राणाको मान, मर्यादा र सम्मानसम्मलाई दुरुपयोग गरेको उनले बताए। सांसद एवं केन्द्रीय सदस्य लीलादेवी श्रेष्ठले वरिष्ठ नेता राणाको परामर्शमा केन्द्रीय सदस्य मनोनयन हुनुपर्ने विचार व्यक्त गरिन्।
अध्यक्ष थापाले गरेको ४२ केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर पार्टीका अधिकांश युवा कार्यकर्ताले राप्रपा अझै पञ्चायतकै लिगेसीमा रहेको भन्दै दुःख व्यक्त गरेका छन् । मनोनीतमध्ये ९२ प्रतिशत पुरुष र पहाडे मात्र रहेको आरोप उनीहरूले लगाएका छन् । संविधानले नै समानुपातिक समावेशितामा जोड दिइरहेको अवस्थामा पञ्चायतको लिगेसी झल्काउने यस्तो काम–कारबाहीले राप्रपा मात्र नभएर स्वयं थापाकै छविलाई हित नगर्ने आवाज पनि चर्को रूपमा उठ्न थालेको छ ।


