![]()
काठमाडौ,१ साउन ।
गाउँ–गाउँमा सिंहदरबारको अधिकार पुर्याउने अवधारणासहित गठन भएको स्थानीय सरकारको जग कार्यान्वयनकै चरणमा खलबलिँदै छ । जनप्रतिनिधिले काम सुरु गर्दा नै स्थानीय सरकारको अधिकार प्रयोग नगरी दलका केन्द्रीय नेता र मन्त्रीलाई प्रमुख अतिथि बनाएर स्थानीय संसद् उदघाटन गर्न थालेका छन् ।
संविधानले तीन तहको सरकारको परिकल्पना गरेअनुसार स्थानीय निर्वाचनपछि स्थानीय संसद् गठन भएको हो । अहिले पहिलो चरणमा सम्पन्न निर्वाचनपछि गठन भएका स्थानीय संसद्ले वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् ।
स्थानीय जनप्रतिनिधि आफूनिकटका दलका नेताहरुबाट संसद् उदघाटन गरिरहेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अन्य देशमा संसद् उदघाटन गर्ने चलन नभएको भन्दै नेपालमा भने जनप्रतिनिधिले आफ्ना दलको नेताबाट संसद् उदघाटन गराउने प्रचलन सुरु गरेको आरोप लगाए ।


