Breaking News.... EverestOnlineKhabar
April 21, 2026

गोपाल पराजुली प्रधानन्यायाधीशमा सिफारिस

Loading

काठमाडौ,१६ असार ।
संवैधानिक परिषदको बिहीबारको बैठकले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कामु प्रधानन्यायाधीश पराजुलीको नाम प्रस्ताव गरेका थिए ।
बैठकले सर्वसम्मतिले प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिस गर्ने निर्णय गरेको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए । पराजुलीको नाम अब सार्वजनिक सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाइनेछ । समितिले उनको नाम अनुमोदन गरेपछि उनको नियुक्ति हुनेछ ।
प्रधानन्यायाधीश सुशीला कार्कीले गत जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ । हाल वरिष्ठताका आधारमा न्यायाधीश पराजुली कामु प्रधानन्यायाधीश छन् । नेपालको संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिसको काम संवैधानिक परिषदले गर्ने व्यवस्था छ । जसमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ ।
प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्यकारूपमा रहने व्यवस्था छ । गत जेठ ३० गतेको न्यायपरिषद बैठकले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको थियो ।
परिषदले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषदको सचिवालयमा पठाएको थियो ।
बैठकमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव, उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed