![]()
काठमाडौ,१६ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल थुनामा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासँग ३ अर्ब २ करोड रुपैयाँ धरौटी माग गरेको छ । कर निर्धारणमा अनियमितता गरेको आरोपमा जेठ १९ गते पक्राउ परेका शर्मासँग आयोगले उक्त रकम धरौटी माग गर्ने बिहीबार निर्णय गरेको हो ।
हालसम्मका फाइलहरू अध्ययन गरी सम्भावित बिगोको आधारमा उक्त रकम धरौटीका रूपमा माग गरिएको आयोग स्रोतले बतायो । स्रोत भन्छः‘कुल अनियमितताको अंकबाट संलग्न अन्य प्रतिवादीहरूलाई समेत दृष्टिगत गरी दामासाहीका आधारमा धरौटी रकम माग गरिएको हो, बिहीबार साँझसम्म धरौटीबारे शर्माले कुनै निर्णय गरिसकेका छैनन् ।’ थप फाइल अध्ययन गर्दै जाँदा अनियमितताको आकार बढे सोही अनुपातमा धरौटी रकम थप कायम गरिने छ ।’
अख्तियारले शर्मालाइ पक्राउ गरेपछि पहिलो ७ दिन, त्यसपछि ६ दिन र थप दुई पटक ७÷७ दिन म्याद थप गरी २७ दिन थुनामा राखिसकेको छ । बिहीबार विशेष अदालतमा पेस गर्नुपर्ने भएपछि ३ अर्ब २ करोड धरौटी लिन वा थुनामा राख्नका लागि अख्तियारले अनुमति माग गरेको थियो ।


