![]()
एभरेस्ट अनलाइन खबर
काठमाडौँ।
करिब पाँच महिनादेखि विदेशमा स्वास्थ्य उपचार गराइरहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारपश्चात् बिहीबार स्वदेश फर्किनुभएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विदेश जानुभएका पूर्वप्रधानमन्त्री देउवा थाई एयरवेजको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो। चिकित्सकको सल्लाह बमोजिम लामो समयको उपचार र विश्रामपछि उहाँ पूर्ण स्वास्थ्य लाभ गरी स्वदेश फर्किनुभएको हो।
बिहीबार उहाँलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाहिर नेपाली कांग्रेसका शीर्ष नेता, सांसद, पार्टीका पदाधिकारी तथा ठूलो संख्यामा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। विमानस्थल परिसरमा भेला भएका कार्यकर्ताहरूले उहाँको स्वागतमा नाराबाजी गर्दै भव्य स्वागत गरेका थिए।
स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँका निकटस्थहरूले देउवाको स्वास्थ्य स्थिति अहिले सामान्य र सुधारोन्मुख रहेको जानकारी दिएका छन्। उपचारपछि स्वदेश फर्कनुभएका सभापति देउवा अब पुनः पार्टीको नियमित गतिविधि र राजनीतिक भेटघाटमा सक्रिय हुने बताइएको छ।


