![]()
काठमाडौँ, ।
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र विधि, विधान र स्थापित पद्धति मिच्ने काम भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ। हालै मात्र स्वास्थ्य उपचार पूरा गरी स्वदेश फर्कनुभएका देउवाले पार्टीको आन्तरिक विवाद र कानुनी प्रक्रियाका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो।

देउवाले भन्नुभयो, “विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान, पद्धति मिच्ने काम भएको छ। यो विषय अहिले सम्मानित सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकोले यसमा म थप टिप्पणी गर्न चाहन्न तर सर्वोच्च अदालतबाट हामीलाई न्याय हुने कुरामा म पूर्ण विश्वस्त छु।”

पछिल्लो समय सभापति देउवा उपचारपछि फर्किएलगत्तै उहाँकै अगुवाइमा नेपाली काङ्ग्रेसको संस्थापन तथा विचार समूहको विशेष चासोका साथ ‘राष्ट्रिय नेपाली काङ्ग्रेस भेला’ जारी रहेको छ।
उक्त भेलामा देशभरबाट आएका हजारौँ नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ। पार्टीभित्र देखिएको साङ्गठनिक अन्योल र गैरवैधानिक कदमहरूबारे सामूहिक छलफल गरी पार्टीलाई एकजुट र सशक्त बनाउने उद्देश्यका साथ यो भेलाको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

भेलामा सहभागी कार्यकर्ताहरूले पार्टी विधानको रक्षा हुनुपर्ने र अदालती प्रक्रियाबाटै वैधानिक निकास निस्कने विश्वास व्यक्त गरेका छन्। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अन्तिम फैसलाले पार्टीलाई पुनः सही ट्रयाकमा ल्याउने र काङ्ग्रेसको लोकतान्त्रिक साख जोगाउने अपेक्षा गरिएको छ।


