Breaking News.... EverestOnlineKhabar
July 24, 2026

सांसद् अरबिन्द साहविरुद्ध फेसबुकमा आक्रामक पोष्ट गर्ने अन्सारी पक्राउ

Loading

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य अरबिन्द साहविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा आक्रामक स्टाटस लेखेको आरोपमा अन्सारी पक्राउ परेका छन् । चुनावी बाचाअनुसार काम नगरेको भन्दै सांसद साहलाई कालो मसी दल्ने चेतावनी दिएपछि उनलाई प्रहरीले हिरासतमा लिएको हो ।

सांसद् साहले दिएको उजुरीका आधारमा अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

सांसद् साह आफ्नो निर्वाचन क्षेत्र अनुगमनका लागि पुगेका बेला अन्सारीले लगातार फेसबुकमा चेतावनीयुक्त पोष्टहरू गरेका थिए । उनले एक पोष्टमा लेखेका छन्, ‘मेरो ओपन च्यालेन्ज छ । कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटिन्छ, त्यहीँ दल्ने हो । आफ्नो मेनिफेस्टोअनुसार १ प्रतिशत पनि काम नगरेको जनताले खुलासा गरिरहेका छन् ।’

यसअघि पनि अन्सारीले अर्को पोष्टमार्फत सांसद् साहको काममाथि प्रश्न उठाउँदै भरतचोकमा भेट्न र कालो मसी दल्ने चुनौती दिएका थिए । उनले लेखेका थिए, ‘तपाईंले चुनावी घोषणापत्रअनुसार के काम गर्नुभयो ? यदि गर्नुभएको छैन भने कालो मसी दलेर फेरि काठमाडौं पठाउनेछौँ । भरतचोकमा भेट्नुस्, म कालो मसी दल्नेछु ।’

यता अन्सारीका निकटस्थहरूले भने उनले सामाजिक सञ्जालमा असन्तुष्टि र आक्रोश व्यक्त गरे पनि भौतिक रूपमा कुनै विरोध कार्यक्रममा सहभागी नभएको दाबी गरेका छन् । अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रश्न उठाउँदै उनका एक निकटस्थले भने, ‘नेपाली उसको पहिलो भाषा नभएकाले लेखाइमा केही शब्दगत त्रुटि भएको हुन सक्छ । तर, फेसबुकमा असन्तुष्टि पोखेकै आधारमा हिरासतमा लिनु गलत हो । अब नागरिकले जनप्रतिनिधिलाई प्रश्न गर्न र बोल्न पनि नपाउने हो ?’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed