![]()
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सच्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुला ठुला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजा कोठाको सर सफाइका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धूमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।
यो विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दि
रहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजन कीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको भक्तजनको घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागाजा सहितको र्यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।
यही प्राचीन पौराणिक महाविवाहको सम्झना स्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राण प्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषतः साधु, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकिक सुन्दरताले भरिपूर्ण देखिन्छ । यो युगमा पनि राम सिताको विवाह उत्तिकै महत्त्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा व्यापक मेला लागेको छ र जनकपुर वासीहरू त्रेतायूगदेखिको आफूहरूले चलाई आएको चलन र आत्मीयताको निरन्तरता दिइरहेका छन् ।
आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साइत देखाउन पर्दैन किनभने आज पौराणिक रूपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चात्को रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसँगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पुजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रूपमा चिनिन्छ ।


