![]()

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् ।
आज युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा बेल्दै अध्यक्ष नेपालले एमालेमा बसेको भए दश भाईको जस्तै हरिविजोग हुने बताएका हुन् ।
दश बुँदे सहमति गरेर एमालेमै बस्ने नेताहरुको हरिबिजोग भएको उनको भनाई थियो ।
‘एमालेमै बसेको भए यतिखेर दश भाइ जस्तै हरिबिजोग हुने रहेछ, तर एकीकृत समाजवादी बनाएर अगाडि बढ्ने चट्टानी अडान लियौं । र, अहिले हामी राष्ट्रिय शक्ति बनेका छौं, ६ हजार ७४३ वडामा हामी छौं’, अध्यक्ष नेपालले भने ।
एमाले फुट्दा दश भाई भनेर चिनिएका नेता भिम रावल, धनस्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायतका दश जनाले अध्यक्ष ओलीसंग दश बुँदे सहमति गरेर एमालेमै रहने निर्णय गरेका थिए । तर नयां पार्टी खोल्ने सहमती गरेर अन्तमा फेरी केपी ओलीकै शरणमा गएको नेता नेपालको आरोप छ ।
त्यस्तै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनले चेतावनी समेत दिए ।
‘जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन । जसले हामीलाई अपराधी घोषणा गरेको छ । जसले हामीलाई देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नुहोला । गर्नुहुन्छ भने कुरा बिग्रन्छ म क्लियर गर्न चाहन्छु’, उनले चेतावनी दिए ।


