Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् । विभागले यातायात कार्यालयअनुसार निश्चित सङ्ख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ । सर्भरमा पनि समस्या आइरहेको विभागले जनाएको छ । तोकिएको सङ्ख्या सकिएपछि सर्भरले काम नगर्ने र सेवाग्राहीले दुःख पाइरहेको गुनासो आएको विभागका निर्देशक रामचन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले सर्भर स्तरोन्नति गर्ने गरी छलफल भइरहेको छ । त्यस्तै, सङ्ख्या तोकिदिँदा सेवाग्राही फारम नै भर्न नपाएकाले त्यो हटाउने गरी छलफल भइरहेको उहाँले बताउनुभयो । तत्काल इच्छुक सबै सेवाग्राहीको फारम सङ्कलन गर्ने र पालैसँग परीक्षाका लागि बोलाउने गरी छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “एक दुई दिनमा नै केही निर्णय गर्न सकिन्छ ।”
एकै पटक धेरै सेवाग्राहीले फारम भर्दा सर्भरमा समस्या आउँदा विभागको सेवा दुई दिनका लागि अवरुद्ध भएको थियो । बिहीबारबाट सुचारु गरिए पनि अहिले पनि सेवाग्राहीले सहज रुपमा फाराम भर्न नपाएको गुनासो छ । उहाँले भन्नुभयो, “१० महिना रोकिएको सेवा खुलाउन लाग्दा धेरै सेवाग्राही हुनु स्वभाविक हो, कसरी व्यवस्थापन गर्ने भनी छलफल भइरहेको छ ।”

चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक माधव अधिकारीले चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.