![]()
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सोमबार र मंगलबार चलेको विचारको आदान–प्रदानले नेपाली समाजलाई भिन्न र सकारात्मक प्रभाव पारेको नेकपाले दाबी गरेको छ ।
दुई देशका पार्टीहरूको तहमा संयुक्त रूपमा आयोजित यो पहिलो वैचारिक कार्यक्रम भएको चित्रण गर्दै सत्तारूढ नेकपाले विज्ञप्तिमार्फत् भनेको छ– यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको छ र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ । छलफलमा सीपीसीका विदेश विभाग प्रमुख सङ ताओको नेतृत्वमा १० जना प्रतिनिधि र नेकपाका ३०० भन्दा बढी कार्यकर्ता सहभागी रहेको पार्टीको भनाइ छ । “चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहेको सन्दर्भका बीच आयोजित यस विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव परेको छ । यस ढंगले दुई देशका पार्टीहरुको तहमा संयुक्त रुपमा काठमाडौंमा आयोजित यो पहिलो कार्यक्रम हो । यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको छ र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ,” नेकपाले कार्यक्रमको समापनपछि जारी गरेको वक्तव्यमा भनिएको छ ।


