![]()
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्। सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै निन्दा र भत्सर्ना गरेका हुन्।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए। उनले पत्रकारहरुलाई पक्राउ गर्ने जस्तो काम पनि गर्ने हो भनि सरकारलाई प्रश्न पनि गरे।
सभापति देउवाले सरकारले पत्रकारहरुलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारे। समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार विहान पक्राउ पर्नु भएका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो। सभापति देउवाले पत्रकारलाई पक्राउ गरिएको सो घटनाको निन्दा गर्दै आफ्नो पार्टीले विरोध गरिरहेको पनि स्मरण गराए।
पत्रकारलाई अनावश्यकरूपमा धरपकड गर्नु गलत: नेपाल
सत्तारूढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहरूलाई अनावश्यक धरपकड गर्न नमिल्ने टिप्पणी गरेका छन्।
वरिष्ठ नेता नेपालले पत्रकारहरूलाई पक्राउ गर्ने, धरपकड गर्ने लगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरूलाई निरूत्साहित हुने गरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने प्रतिक्रिया दिएका हुन्।
बिहीबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले कानुन बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न नमिल्ने पनि स्पष्ट पारे।


