![]()
काठमाडौं । ऐतिहासिक तथा पूरातात्विक महत्वको हनुमानढोकास्थित वंशगोपाल मन्दिर पुनर्निर्माण गरी पूजारीलाई हस्तान्तरण गरिएको छ। बिहीबार मन्दिरमा क्षयापूजा गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पुनर्निर्माण गरिएको सो मन्दिरको साँचो पूजारी प्रकाश झालाई हस्तान्तरण गरेका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको आर्थिक तथा प्राविधिक सहयोगमा सो मन्दिर तोकिएको समय भित्रै सम्पन्न गरिएको हो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री अधिकारीले हनुमानढोकास्थित सम्पदाहरुको पुनर्निर्माणको बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले राष्ट्रको शीर ठाडो हुने गरी सम्पदा पुनर्निर्माणको काममा जुट्न सबैलाई आह्वान पनि गरे। मन्त्री अधिकारीले राष्ट्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुने गरी सम्पदा पुनर्निर्माणको काममा तीव्रता दिन मातहतका निकायलाई पनि सचेत गराए।
हनुमानढोकास्थित गद्दी बैठक केही समयअघि पुनर्निर्माण सम्पन्न गरिएको थियो। त्यसैगरी काष्ठमण्डप पुनर्निर्माणको कामलाई पनि तीव्रता दिइएको छ।


