Breaking News.... EverestOnlineKhabar
June 27, 2026

जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै,यस्तो छ सामाजिक महत्व…

Loading

काठमाडौ,भदौ ।
आज जनैपूर्णिमा, हिन्दु धर्मावलम्बीहरूले आज बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्। रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ।
तागाधारीले आजकै दिन पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउने धार्मिक प्रचलन रहिआएको छ। सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ।
तराईतिर भने यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ। नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनेर मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउने गर्दछन्।
यस दिन उपत्यकाका किसानले आ–आफ्ना खेतमा गएर भ्यागुता पूजा गरेर सिमीको पातमा क्वाँटी भात खुवाउने चलन भएकाले यस पर्वलाई ‘ब्याँ जा नकेगु’ (भ्यागुतालाई भात खुवाउने) भन्ने पनि गरिन्छ।
‘रुद्रयामलतन्त्रे महादेव वचन’ का अनुसार प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरी मानिसको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले जनैपूर्णिमाका दिन उनीहरूले गरेको गुन सम्झी त्यसरी भात खुवाई कृतज्ञता ज्ञापनस्वरुप सो यस कार्य गर्ने गरिएको लोककथन छ।
यसै दिन गोसाइँकुण्ड (शिवलुती), मणिचूड दह र गोसाइँकुण्डबाट पानी आइराखेको जनविश्वास रहेको ललितपुरको कुम्भेश्वरमा ठूलो मेला लाग्ने गर्दछ।प्राचीनकालमा कुम्भ ऋषिले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वर नामले प्रसिद्ध भएको उक्त तीर्थमा गोसाइँकुण्ड जान नसकेकाहरूले स्नान गरेर कुम्भेश्वर महादेवको पूजा अर्चना गर्दछन्।
यसै दिन भक्तपुरमा तलेजु भवानीका तर्फबाट ‘घिंताँ किसी’ नाच निकाली भक्तपुर नगर परिक्रमा गराइन्छ। यसै दिनदेखि राजधानी तथा अन्य ठाउँमा बौद्ध धर्मावलम्बीहरू गुँलाबाजा (एक प्रकारको बाजा) बजाउँदै विभिन्न बाहा र बहीमा राखिएका दीपंकर तथागत, बुद्ध बोद्धिसत्वलोकेश्वर, तारा आदिका मूर्तिहरू, पौवा, हस्तलिखित ग्रन्थहरू हेर्न जाने गर्दछन्।
जनैपूर्णिमा अघिल्ला वर्षहरुमा सरकारले सार्वजनिक बिदा दिने गर्दथ्यो। तर, यसपटक सो बिदा कटौति गरिएको छ। यद्यपि प्रदेश २ र ५ का सरकारले भने सर्वजनिक बिदा दिने निर्णय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.