![]()
एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यो महिनाको वरीयता सार्वजनिक गर्दा नेपालले कुनै प्रगति गर्न सकेन । अघिल्लो महिना १६१ औं स्थानमा रहेको नेपाल यो महिना पनि सोही स्थानमा रहेको छ ।
फिफाले यो पटक देखि वरीयता निर्धारण गर्ने मापदण्डमा ब्यापक फेरबदल गरेको छ । यसअघि अघिल्लो वरीयता खेलको औसत अंक जोड्ने प्रावधान थियो ।
लामो समयको परीक्षणपश्चात अब वरीयताका लागि अघिल्लो वरियताको अंकमा वरीयता सार्वजनिक गरिने महिना भर खेलेको खेलको अंक जोडिने वा घट्नेछ । अब महिनाभर निष्क्रिय रहने राष्ट्रिय फुटबल संघको अंक घट्ने छैन । तर आफूभन्दा कमजोर टिमसँग बराबरी वा हारेको खण्डमा अंक घट्नेछ ।
फिफा वरीयतामा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ । विश्वकप विजेता फ्रान्स ६ स्थानमाथि उक्लिँदै शीर्ष स्थानमा पुग्न सफल भएको छ । विश्वकपको उपविजेता क्रोएसियाले १६ स्थान माथि उक्लिँदै २०औंबाट चौथो स्थानमा फड्को मारेको छ । उरुग्वे पनि १४औंबाट नौ स्थानमाथि उक्लिँदै पाँचौंमा पुगेको छ । यस्तै इंग्ल्याण्ड १२औंबाट छैटौं स्थानमा उक्लिएको छ भने डेनमार्क १२औंँ स्थानबाट नवौं स्थानमा उक्लिएको छ ।


