![]()
काठमाडौं ।केन्द्र सरकार मातहत रहेका कर्मचारीलाई प्रदेश र स्थानीय सरकार अन्तर्गत खटाउन गाह्रो भएपछि एक वर्ष लोक सेवा आयोगबाट हुने भर्ना रोक्ने मनस्थितिमा सरकार पुगेको छ।
पुसभित्र कर्मचारी समायोजन गरिसक्ने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवाको भर्ना रोकेर साविक कर्मचारीलाई तीनै तहका सरकार मातहत समायोजन गर्न लागेको हो।
मन्त्रालयले तीनै तहका सरकारमा रहने कार्यालयमा आवश्यक पर्ने कर्मचारी दरबन्दी संख्या तयार पारिसकेको छ। केन्द्रमा ४५ हजार ८ ५८, प्रदेशमा २१ हजार ३९९ तथा ७५३ स्थानीय तहमा ५७ हजार कर्मचारी रहने गरी संगठन संरचना स्वीकृत भइसकेको छ।
स्वास्थ्य सेवासमेत गरी मुलुकभर १ लाख १७ हजार कर्मचारी छन्। यी कर्मचारीलाई तीनै तहमा व्यवस्थापन गर्न मन्त्रालयले गृहकार्य गरिराखेको छ। अहिले केन्द्रमा ८६ हजार कर्मचारी छन्। केन्द्रका ४१ हजार कर्मचारी अझै अन्यत्र पठाउनुपर्नेछ।
स्थानीय तहमा १५ हजार हाराहारी कर्मचारी अपुग छन्। केही तहमा प्रशासकीय अधिकृत खालि रहेको मन्त्रालय स्रोत बताउँछ। शिक्षा क्षेत्रका कामविहीन जनशक्तिलाई प्रशासन सम्हाल्ने गरी खटाउने तयारी पनि छ।
खटाएका ठाउँमा कर्मचारी नजाने र चाहिएअनुसार जनशक्ति नपाए पछि हाजिर नगराउने खालका समस्या देखिएपछि सरकारले समयमै कर्मचारी समायोजन टुंग्याउन सकेको छैन।


