![]()
एजेन्सी,साउन ।
अमेरिकाले रुसमाथि प्रतिबन्धको तयारी गरेको छ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले प्रतिबन्धको तयारी गरेको हो । रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने बताइएको छ । नयाँ प्रतिबन्धमा इलेक्ट्रोनिकलगायत प्राविधिक सामानहरुको निर्यात पर्छन् । अमेरिकी विदेश मन्त्रालयको राज्य विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व जासुसमाथिको आक्रमणमा रुस दोषी देखिएकाले प्रतिबन्ध कार्यान्वयन हुने जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नार्टले अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्दै रुसले आफ्नै नागरिकविरुद्ध रसायनिक तथा जैविक हतियार प्रयोग गरेकाले प्रतिबन्ध लगाउन लागेको बताएकी छन् । तर रुसले भने आक्रमण आफूले नगरेको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आइरहेको छ । गत मार्चमा रुसका पूर्वगुप्तचर सेर्गेई र उनकी छोरीमाथि बेलायतको साल्सबरीमा विषालु ग्यास आक्रमण भएको थियो । जसबाट गम्भीर बिरामी परेका उनीहरु लामो उपचारपछि निको भएका थिए ।
यो घटनापछि आक्रोसित भएको ट्रम्प प्रशासनले ५ दर्जन रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । विशेष गरी रिपब्लिकन सांसदहरुले रुसले अन्तर्राष्ट्रिय कानून तोडेर रसायनिक हतियार प्रयोग गरेकाले प्रतिबन्धको माग गर्दै आएका थिए । यहीबीच अमेरिकी विदेश मन्त्रालयले रुसले १९९१ को कानून तोडेको औपचारिक रुपमा बताएको हो ।


