![]()
धनुषा,साउन ।
जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । जनकपुर–जयनगर–बर्दिवास ब्रोडगेज रेल सेवाको परीक्षण गरिएको छ। रेल निर्माणको ठेक्का लिएको भारतीय इर्कान कम्पनीले बुधबार रेल सेवाको सफलतापूर्वक परीक्षण सम्पन्न गरेको हो।
भारत सरकारको सहयोगमा करिब १० अर्ब रुपैयाँ लागतमा निर्माण भएको सो ब्रोडगेज रेल सेवाको पहिलो चरणमा भारत जयनगरदेखि नेपालको खजुरी स्टेसनसम्म ८.५ किलोमिटर दुरी परीक्षण सञ्चालन गरिएको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद ओझाले जानकारी दिए । उनले भनेः‘ अधिकांश काम अन्तिम चरणमा पुगिसकेका छन्,पहिलो चरणमा अक्टोबरसम्म जयनगरदेखि कुर्थासम्म पूर्ण रुपमा सेवा सञ्चालन गर्ने तयारी छ ।’
निर्माण पूरा भएपछि जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर दुरीमा रेल गुड्नेछ। जसमा ३ किमि मार्ग भारतमा पर्छ। यसका लागि महोत्तरीको भङ्गहादेखि बर्दिवाससम्मको लिक वरिपरिको खण्डमा अधिग्रहणको काम भइरहेको छ।
दोस्रो चरणमा २०१९ मार्चदेखि धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि र सोही वर्षभित्र बिजलपुरादेखि बर्दिबाससम्म १७ किमि रेलमार्थ सञ्चालनमा ल्याउने योजना रहेको इन्जिनियर ओझाले जानकारी दिए। विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो ।
जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेशनसम्म पुगेको थियो । उक्त रेलले आवश्यक स्थानमा ब्लास्ट ओछ्याउने काम गर्नुका साथै सहज रूपमा आवत–जावत गरेको छ । सफल परीक्षणपछि रेल सञ्चालनमा अब द्विविधा नहुने ओझाले जानकारी दिए । रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको ठूलो संख्यामा भीड लागेको थियो । दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वेको स्टेशनमा हेर्ने आउनेको भीड जम्मा भएको थियो । भारत सरकारको रु सात अर्बको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ ।


