Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेको उनीहरू बताउँछन्।

फेसबुकबाट मानिसहरूलाई ठगी गरेको भन्दै प्रहरीले गत चैतमा काठमाण्डूको डिल्लीबजारबाट एक भारतीय नागरिकलाई पक्राउ गर्‍यो। उनको समूहले ब्रिटेनबाट बहुमूल्य सामानसहितको पार्सल पठाइदिएको भन्दै एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ।केही नेपाली समेत संलग्न त्यो समूहले फेसबुकमा एक ब्रिटिश नागरिकको प्रोफाइल बनाएको थियो। त्यही प्रोफाइलबाट ब्रिटिश पाउण्ड र अमेरिकी डलरसहित पार्सल गरी पठाइदिएको सन्देश दिएको थियो।

त्यो समूहका सदस्यहरूले पीडितसँग पार्सल भारतमा आइपुगे पनि त्यहाँबाट नेपाल ल्याउन भन्सार महसुल तिर्नुपर्ने भन्दै रकम माग गर्ने गरेका थिए। पछिल्ला वर्षमा उक्त समूहले जस्तै प्रविधिको दुरुपयोग गर्दै नेपालीहरूलाई ठगी गर्ने विदेशीको संख्या बढेको प्रहरी अधिकारीहरू बताउँछन्।

सामाजिक सञ्जालबाट ठगी गर्ने, ब्याङ्किङ प्रणाली ह्याक गरी रकम निकाल्ने, डाटा चोरी गर्ने र अवैध रूपमा कल बाइपास गर्ने जस्ता कार्यमा विदेशी नागरिकको संलग्नता हुने गरेको उनीहरूको भनाइ छ। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री ठगीमा प्राविधिक जानकारी कम भएकाहरू फस्ने गरेको बताउँछन्।

“धेरै घटनामा चिट्ठा पर्‍यो भनेर ठगी भएको देखिन्छ। धेरै पुरुषहरू वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने र गृहिणीहरूसँग स्मार्टफोन हुने तर चेतनाको स्तर सुरक्षाका दृष्टिकोणले उच्च नहुने भएकाले प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।”

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार सामाजिक सञ्जाल दुरुपयोग र इन्टरनेट ठगी लगायतमा गएको सात वर्षमा ४४ वटा मुद्दा अदालतमा दर्ता गरिएका छन् भने ६२ जना पक्राउ परेका छन्। यसैगरी कल बाइपास र एटीएम ह्याकसम्बन्धी आरोपमा हालसम्म ५२ जना विदेशी नागरिक पक्राउ परेका छन्।

पहिले-पहिले महत्त्वपूर्ण तथा व्यक्तिका निजी सूचना वा डाटा चोरी गर्ने उद्देश्यले साइबर हमला हुने गरेकामा अहिले भने रकम असुल्नकै लागि यस्तो हमला हुन थालेको साइबर सुपरिवेक्षण गर्ने एक कम्पनीका सञ्चालक सरोज लामिछाने बताउँछन्।

“साइबर आक्रमणहरू अन्तर्राष्ट्रियस्तरको हुन्छ। बाहिर जस्तो खालको आक्रमण हुने गर्छ त्यसै खालको यहाँ आउँछ। रोकथामका उपाय बाहिरकै जस्तो हुनुपर्ने हो। तर त्यस्तो नभइसकेकोले समस्या भएको हो।”

साइबर सुरक्षा चुनौतीपूर्ण बन्दै गएपछि प्रहरीले छुट्टै साइबर अपराध अनुसन्धान ब्यूरो स्थापना गर्ने तयारी गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.