![]()
काठमाडौँ ।डा. गोविन्द केसीसँग सरकारले उनका सबै माग पूरा गर्ने सहमति गरेपछि केसीका समर्थकले शनिबार राजधानीमा धन्यवाद सभा आयोजना गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा केसी समर्थकले धन्यवाद सभाको आयोजना गर्दै सहमति पूर्णरुपले पालना गर्न सरकारसँग माग गरेका छन्।
बिगतमा पनि पटक–पटक सरकारले डा. केसीसँग सहमति गरेको तर पालना नगरेको भन्दै समर्थकले यसपटक पक्कै पनि सहमति पालना हुनेमा विश्वास रहेको बताएका छन् ।
उनीहरुले डा. केसीको सत्याग्रहमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्झौता पूर्ण पालना गराउनका लागि सबैमा सकारात्मक सहयोगका लागि पनि आग्रह गरेका छन् ।
बिहीबार सरकार र डा. गोविन्द केसीबिच राजधानीमा अबको १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने लगायत ९ बुदे सहमति भएको थियो ।
यो सहमतिसँगै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसदमा पेश भइसकेको छ । विधेयकमा डा. केसीले उठाएका मागहरु संशोधनसहित समावेश गर्ने तयारी सरकारले गरेको छ । त्यसमा संशोधनका लागि संसदको नियमानुसार शुक्रबार ७२ घण्टाको समय उपलब्ध गराइएको छ ।


