![]()
काठमाडौ,असार ।
गृहमन्त्री रामबहादुर थापा‘बादल’ को आदेशमा वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरलाई ‘अपहरण शैली’मा गृह मन्त्रालय लगेर धम्की दिइएको छ। अस्पतालको ओपिडीमा बिरामी जाँचिरहेका डा.भोजराज अधिकारीलाई मंगलबार दिउँसो गृह मन्त्रालयकै गाडीमा मन्त्रालय लगेर धम्की दिइएको हो। डा.अधिकारीलाई गलत मेडिकल रिपोर्ट बनाउन दबाब दिइएको छ।
‘मन्त्रालयमा गृहमन्त्रीले बोलाएको छ’ भनेर करिब १ घन्टा राखेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले गलत रिपोर्ट‘बनाउनुहोस्’ भन्दै दबाब दिएका हुन्।
डा.अधिकारीले ३४ वर्षभन्दा लामो चिकित्सकीय अभ्यासका क्रममा‘मेडिकल इथिक्स’भन्दा बाहिर बसेर काम नगरेको भन्दै गलत रिपोर्ट नबनाउने अडान राखेपछि छाडिएको थियो। डा.अधिकारीले गृहमन्त्रालयमा आफूलाई कैदीलाई झैँ केरकार गरिएको जनाएका छन् । उनले भनेः‘उहाँहरुले मलाई निकै तनाव दिनुभयो। प्रहरीले कैदीलाई केरकार गरेझैँ गर्नुभयो,यसले मलाई निकै चित्त दुखेको छ। गृहमन्त्रीको सल्लाहकारले मलाई हाम्रो महान् योद्धाहरुले भने अनुसारकै रिपोर्ट बनाउनुहोस् भन्दै निर्देशनात्मक आदेश दिए।’
डा.अधिकारीले आफूले आजसम्म चिकित्सकीय मर्यादा विपरीत काम नगरेका कारण यो कुरामा पनि जे सत्य हो त्यही लेख्छु भनेर जानकारी दिएको बताए। डा.अधिकारीलाई मन्त्रालयमा बोलाइएको विषय सल्लाहकार सुवेदीले समेत स्वीकार गरे।


