![]()
काठमाडौ,असार ।
देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने भएको छ। गृह मन्त्रालय स्रोतकाअनुसार सिंहदरबारभित्र छिरेर जुन मन्त्रालयको पास छ सो मन्त्रालयमा मात्र जान पाइनेछ। एक मन्त्रालयको पास लिएर अर्को मन्त्रालयमा जाने आगन्तुकलाई कर्मचारीले ‘रेस्पोन्स’ नै गर्ने छैनन्। गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले एउटा पासले भित्र पसेर विभिन्न मन्त्रालय छिर्ने कुरालाई व्यवस्थित गर्न नयाँ नियम ल्याउन लागिएको जानकारी दिए।
उनले भनेः‘यो पहिलादेखिकै योजना हो। बाहिरतिरका देशमा पनि यस्तो व्यवस्था हुन्छ,सेवालाई चुस्त बनाउने यो नियम यथाशीघ्र लागू गर्ने तयारीमा छौं।’ उनले पत्रकारका लागि पनि यो नियम लागू हुने बताए। उनले अगाडी भनेः‘तपाईंहरूको पनि बिट हुन्छ। जुन मन्त्रालयको रिपोर्टिङ गर्ने हो त्यहीको पास पाउनुहुन्छ,तर यसबाट टेरर (आतंकित) नहुनुस्। पत्रकारका लागि छुट्टै व्यवस्था पनि गर्न सकिन्छ।’
उनले यो नियम लागू भए हरेक मन्त्रालयले आगन्तुकलाई दिने कार्ड बनाउने र तिनको रङ फरक–फरक हुने पनि जानकारी दिए। अहिले सूचना विभागको कार्ड देखाएर पत्रकार सिंहदरबार छिर्न पाउँछन्। भित्र छिरिसकेपछि जुनसुकै मन्त्रालयमा जान सक्छन्। गृह र प्रधानमन्त्री कार्यालयमा जाँदा भने सुरक्षा जाँच हुन्छ। सर्वसाधारणलाई पनि भित्र छिरिसकेपछि कुनै पनि मन्त्रालयमा जान रोकटोक हुँदैन।


