![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वरीयता लगायतका बिषयमा आफूले पार्टीमा राखेका असहमतिमाथि तत्काल छलफल चलाउन माग गरेका छन ।
एभरेष्ट अनलाइन खबरसंग कुरा गर्दै वरिष्ठ नेता खनालले आफूले सचिवालय बैठकमा लिखित सहमति दर्ज गरेको र अब छलफलको प्रतीक्षमा रहेको बताए ।
उनले भने, ‘मैले सचिवालयको बैठकमा लिखित रूपमा नै आफ्नो असहमति दर्ज गरेको छु । मैले छलफलको माग गरेको छु । कहिले छलफल हुन्छ, त्यसको प्रतीक्षामा छु ।’
नेता खनालले आफू उपचारका बेला चीन भ्रमणमा रहेकाबेला वरीयता खोसेर आफनो अपमान गरेको आरोपसमेत लगाए । उनले आफू पार्टी अध्यक्ष हुँदा पनि केपी ओलीबाट साथ नपाएको र अहिले पनि उनको अन्यायपूर्ण व्यवहार जारी रहेकोमा आश्चार्य प्रकट गरे ।
‘म पार्टी अध्यक्ष भएका बेला ओलीले पराजय नै स्वीकार्नु भएन । मलाई कुनै पनि सहयोग गर्नुभएन । त्यो कार्यकालभरि उहाँले गुटबन्दी गर्नुभयो । अराजकता सिर्जना गर्नुभयो । गतिविधि हुनै नदिने किसिमका क्रियाकलाप भए । अहिले प्रधानमन्त्री बनेका छन, पार्टी अध्यक्ष छन, तर माथि अन्यायपूर्ण व्यवहार पनि जारी नै राख्नु भएको छ ’ खनालले भन्नुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टीको भावी नेतृत्व ओली हुनै नसक्ने संकेत गर्दै भने, ‘हामी यस्तो नेतृत्व चुन्छौँ, जो शारीरिक रूपले स्वस्थ हुनेछ । देशव्यापी रूपमा कार्यकर्ताको बीचमा पुग्नसक्ने, वैचारिक, राजनीतिक र सांगठनिक हिसाबले सुदृढ क्षमता भएको हुनेछ । स्वस्थ्य, वैचारिक, राजनीतिक र सैद्धान्तिक रूपले दह्रो व्यक्तिले मात्रै नेतृत्व गर्नेछ । अब अरूहरूको युग सकियो ।’
नेता खनालले सरकारले यथेष्ट छलफल गरेर बजेट ल्याउनुपर्नेमा त्यसो नगरेकोमा आलोचना गरे । उनले सिंगो राष्ट्रले जुन उचाइबाट अपेक्षा गरेको थियो, त्यसको पूर्ति यो बजेटले गर्न नसकेको दाबी गरे ।


