![]()
काठमाडौं । बिभिन्न बिद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन ।
नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेबिसंघ र अखिल छैटौंले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल मूल्यबृद्धि फिर्ता लिइ जनतालाई राहत दिन आग्रह गरेका हुन । पेट्रोलियम पदार्थमा शृंखलाबद्धरुपमा मूल्यबृद्धि गरेर गरीबिको रेखामुनी रहेका बहुसंख्यक जनताको ढाड भाँच्ने काम भैरहेको बिज्ञप्तीमा उल्लेख छ । अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियत दिनुकोसाटो उल्टो ब्यापारीका रुपमा देखापर्नु बिडम्बना भएको उनीहरुको भनाइ छ ।

अनेरास्ववियूकी अध्यक्ष नविना लामा, नेबिसंघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेलले हस्ताक्षर गरेको बिज्ञप्तीमा नेपाल आयल निगममा भएको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्न माग गरिएको छ । बिज्ञप्तीमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यबृद्धिप्रति हाम्रो आपत्ती रहेको छ ।’

यस्तै, दुई प्रकारको सिलिण्डर बनाई जनता र बिद्यार्थीलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने यसअघिको सहमति पनि कार्यान्वयन नभएकोमा बिद्यार्थी संगठनहरुले आपत्ती जनाएका छन । गैरजिम्मेवार ढंगले मूल्यबृद्धि गरिएकाले तत्काल खारेज नगरे संघर्षमा उत्रिने चेतावनी उनीहरुले दिएका छन ।


