Breaking News.... EverestOnlineKhabar
October 3, 2026

भूकम्प प्रभावित चार जिल्लामा २ वर्षसम्म निःशुल्क इन्टरनेट

Loading

काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा २ वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा यो सेवा सञ्चालनमा ल्याइसकेको हो।

भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हालसम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका अनुसार आगामी असार मसान्तसम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरूप द्रूत गतिमा काम भइरहेको छ ।

समग्रमा हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ ।

जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६२ विद्यालय, काभ्रेपलाञ्चोकका १२६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०५ विद्यालय, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ ।

कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउन स्थान अनुसार वाइम्याक्स बेस स्टेशन, थ्रीजी डिभाइस र ईभीडीओ उपकरणको व्यवस्था गरेको छ। यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ । सर्भिस प्वाइन्टमा आवश्यकता अनुसार वाइम्याक्स, जीएसएम, सीडीएमए र एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौताअनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed