Breaking News.... EverestOnlineKhabar
August 11, 2026

बालकृष्ण ढुंगेल जेलमुक्त गरिएकोप्रति नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको आपत्ति,दोषीलाई पुनःजेल नपठाए प्रतिरोध गर्ने चेतावनी

Loading

नुवाकोट,जेठ ।
कर्तव्य ज्यान मुद्धामा अदालतले दोषी प्रमाणीत गरेर जेलमा पठाएका नेकपाका नेता एंव पूर्व माओवादी केन्द्रका पूर्व सांसद बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिइएकोप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले कडा आपत्ति जनाएको छ । कार्यसमिति नुवाकोटले ज्यान मुद्धाका दोषी ढुंगेललाई सर्वोच्च अदालतको फैसलाको सम्मान गर्र्दै तत्काल जेल पठाउन समेत सरकारसंग माग गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले एक जिज्ञप्ती जारी गरी बालकृष्ण ढुंगेल रिहाई निर्णयको कडा शब्दमा विरोध गर्नुभएको छ । जारी विज्ञप्तीमा भनिएको छः‘नेपाली कांगे्रस जिल्ला कार्य समिति नुवाकोट बालकृष्ण ढुङ्गेल रिहाइ निर्णयको विरोध गर्दछ यतिखेर देशभर गणतन्त्र दिवस मनाइँदै छ । २००७ सालको क्रान्तिदेखि २०६२÷६३ को जनआन्दोलनसम्म सयौं नेपालीले साहदत प्राप्त गरे, हजारौ अङ्गभङ्ग भए । जनताले यही वलिदानीसँग साटेको राजनीतिक व्यवस्था हो गणतन्त्र । यो केवल राजाको ठाउँमा राष्ट्रपति रहने प्राविधिक विषय मात्र नभई जनताको जीवनपद्धति र नागरिक सर्वोच्चताको स्रोत तथा जनताको बुझाइमा स्थिरता, कानुनी राज्य, शान्ति सुव्यवस्था र अमनचयनको प्राप्ति थियो । गणतन्त्रको ११ औं दिवस मनाइरहँदा हामीले राजनीतिक परिवर्तनको कोर्स पूरा गरी आर्थिक, सामाजिक परिवर्तनाको कोर्समा प्रवेश गरेका छौं । गणतन्त्र घोषणा भएर पनि बाँकी रहेका संस्थागत, संरचनागत विकासको कार्यभार पूरा भई दीगो शान्ति र स्थिरतातर्फ देश उन्मुख भएका कारण यस पटकको गणतन्त्र दिवसलाई आम जनताले विशेष उल्लास र उमङ्गका साथ मनाउन सुरु गरेका थिए ।’
विज्ञप्तीमा अगाडी भनिएको छः‘तर, दुर्भाग्यवस गणतन्त्र दिवसको उल्लास र यसका समारोहहरू नसकिँदै सिङ्गो मुलुकलाई चिन्तित बनाउने र कानुनी राज्य र शान्ति सुव्यवस्थाप्रतिको जनताको विश्वास र भरोसाको उपहास गर्ने काम सरकारबाट भएको छ । सम्मानित सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी प्रमाणित भई जेल पठाइएका बालकृष्ण ढुङ्गेललाई‘आचरण सुध्रिएको’ काल्पनिक बाहना बनाई सरकारले जेलमुक्त गरेको छ । के गणतन्त्र दिवसको उल्लासमा रमाइरहेका नेपाली जनतालाई वर्तमान सरकारले गणतन्त्र दिवसकै उपहारको रूपमा बालकृष्ण ढुङ्गेल दिएको हो ? उनलाई त गणतन्त्र दिवसमा बाँकी कैद माफी दिई उन्मुक्ति दिइयो होला, उनले हत्या गरेका उज्जनकुमार श्रेष्ठको परिबार र शुभचिन्तकहरूलाई चाहिँ गणतन्त्र दिवसले के सन्देश दियो ? जनताले कानुनी राज्य र शान्ति सुव्यवस्थाको अनुभूति कसरी गर्ने ? जनतालाई राम्रोसँग थाहा छ, बालकृष्ण ढुङ्गेल तत्कालीन नेकपा माआवादी केन्द्र (हालको नेकपा) का नेता हुन् । वर्तमान सरकारले जवाफ दिनुपर्छ, गणतन्त्र जनताको सर्वोच्चता कायम गर्ने राजनीतिक व्यवस्था हो कि सत्तारुढ दलका नेताको ? यो प्रश्न नेपाली कांग्रेसको मात्रै होइन, शान्तिप्रेमी र कानुनी राज्यका पक्षपाती आम नेपाली जनताको हो । चिन्ता व्यक्ति बालकृष्ण ढुङ्गेलको भन्दा बालकृष्ण ढुङ्गेल प्रवृत्तिको हो ।’
‘जनताले अपराधमा शून्य सहनशीलता र कानुनी सर्वोच्चताको रक्षा गर्न बलियो सरकार चाहेका थिए, कानुनी राज्य र शान्ति सुव्यवस्थाको धज्जी उडाउन बलियो होइन । बालकृष्ण ढुङ्गेललाई पक्रन जारी गरिएको वारेन्टमा सम्मानित अदालतले “स्वतन्त्र न्यापालिकाको अश्मिता एवं विधिको शासनको रक्षाको लागि पीडित तथा समाजको निम्ति समेत खतरा बनी फरार रहेका प्रतिवादी बालकृष्ण ढुङ्गेललाई तुरुन्त पक्राउ गर्न आवश्यक देखिँदा निजलाई पक्राउ गर्नका लागि वारेन्ट जारी गरिएको छ” भनी उल्लेख गरेको छ । सम्मानित अदालतले यो घटना द्वन्द्व निरूपण तथा मेलमिलाप आयोको क्षेत्राधिकारभित्रको विषय नभई अपराधिक घटना भएको प्रमाणित गरेको छ । सम्मानित सर्वोच्च अदालत जसको खुला जीवन पनि‘पीडित तथा समाजको निम्ति समेत खतरा’ देख्छ, सरकार उसैको आचरण सुध्रिएको देख्छ । यो कस्तो कानुनी राज्य हो ? विज्ञप्तीमा उल्लेख छ ।
अन्त्यमा विज्ञप्तीमा भनिएको छः‘नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोट बालकृष्ण ढुङ्गेल रिहाइ निर्णयको विरोध गर्दछ । दण्डहीनताको अन्त्य गरी अपराधमा शून्य सहनशीलता कायम गर्न, कानुनी सर्वोच्चताको सम्मान गर्न र पीडितलाई न्यायको अनुभूति दिलाउन निजलाई पुनः जेल पठाउन यसै विज्ञप्ति मार्फत सरकारसँग जोडदार माग गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed