![]()
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संसदमा सोमबार प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदको संयुक्त बैठकमा प्रस्तुत गरेकी हुन् ।
सरकारले पाँच बर्षमा मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक र्पुयाउने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रममा प्रस्तुत गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे पुगेकी थिइन । नीति तथा कार्यक्रममा ल्याउने क्रममा संसद भवनलाई विशेषरुपले सजाइएको थियो ।
सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्य ६.९ प्रतिशत राखेको छ भने अबको पाँच वर्षमा यो आर्थिक वृद्धिदरको लक्ष्य दोहोरो अंकमा र्पुयाउने राखिएको छ ।
सरकारले नीति तथा कार्यक्रममा उत्पादनशील रोजगारीमूलक र न्यायपूर्ण वितरणसहित दोहोरो आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ । नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास, सुशासन र आर्थिक समृद्धिको प्रमुख एजेन्डालाई मूर्तरूप दिने गरी नीति तथा कार्यक्रम ल्याइएको छ ।
नीति तथा कार्यक्रममा सरकारका सबै क्षेत्रमा उत्पादन अत्यधिक बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।
नेपालीलाई कम विकसितबाट मध्यमस्तरको आयमा र्पुयाउने लक्ष्य राखिएको छ । सबै क्षेत्रमा अत्यधिक उत्पादन बढाएर प्रत्येक नेपालीको आय अतिकम विकसितबाट मध्यमस्तरसम्म र्पुयाउनु नीति तथा कार्यक्रमको प्रमुख उद्देश्य छ ।
आगामी १० वर्षको विकास यात्रालाई ऊर्जा दशकका रूपमा अघि बढाउँदै देशभर लोडसेडिङ अन्त्य गरी विद्युत्मा आत्मनिर्भर हुनेतर्फ ठोस कदम चाल्ने योजना समेटिएको छ ।
खानेपानी तथा सरसफाइ सेवामा पहुँच नपुगेको जनसंख्यालाई राज्यका तीनै तहबाट सहअस्तित्व, समन्वय र सहकारिताको सिद्धान्तका आधारमा सञ्चालनमा ल्याई सबै नागरिकको खानेपानी तथा सरसफाइको पहुँच अभिवृद्धि गरिने कार्यक्रम समेटिएको छ ।


ज्येष्ठ नागरिक, दलित, लोपोन्मुख, विपन्न, सीमान्तकृत, लक्षित तथा जोखिममा रहेकाका लागि सुरक्षित, किफायती र वातावरणमैत्री आवासको पहुँच सुनिश्चित गरिने लक्ष्य राखिएको छ ।
ऊर्जा तथा जलस्रोत र अन्य पूर्वाधार विकासमा जोड दिँदै कृषि, वन र पर्यटन क्षेत्रको दिगो विकास गर्दै कुल गाहस्र्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान वृद्धि गरिने कार्यक्रम समेटिएको छ ।
निजी तथा सहुलियतपूर्ण वित्तीय स्रोतको व्यवस्था गर्ने, जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको उपलब्धता वृद्धिदर र लागत कटौती गर्ने, वैदेशिक लगानीको माध्यमबाट स्थानीय साधन तथा पुँजी र प्रविधिको उपयोगमा जोड दिने, आयात प्रतिस्थापन गर्ने वस्तु तथा सेवाको पहिचान, उत्पादन र विविधिकरणमा जोड दिइने कार्यक्रम तय गरिएको छ ।


