![]()
बीबीसी ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्।मुलुकका २३ ओटा प्रान्तमध्ये २० प्रान्तमा भ्यागुते रोगको प्रकोप फैलिएको छ। प्रकोपमा परी एक हजार ७२५ जना बिरामी भएका छन्।
भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ। प्रभावित व्यक्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटा टासिने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखापर्छ। यमनमा यो रोग विषेश गरेर बालबालिकामा देखिएको छ।
संयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा बालबालिकामा देखिएको भ्यागुते रोगको विरुद्धमा राष्ट्रिय अभियान पनि चलाइएको थियो। भ्यागुते रोग विरुद्ध लड्न गत मार्चमा डब्लु एच ओ, युनिसेफ र यमनको स्वास्थ्य अधिकारीले संयुक्तरुपमा देशव्यापी बृहत अभियानको सुरुवात गरेका हुन्।


