![]()
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट ल्याउँदा जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गरेर ल्याउन सांसदहले सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा धारणा राख्ने अधिकांश सांसदले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार बनाई बजेटको प्रभावकारी कार्यान्वयन गर्ने तथा व्यावहारिक रुपमा आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्न जोड दिनुभएको थियो ।
सत्तापक्षका सांसदले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन जनाउनुभएको थियो भने प्रतिपक्षी दलका सांसदले भने वर्तमान सरकारले दिशाहीन र नेपाली जनताले खासै नयाँपन पाउनेखालको प्रस्ताव आएको गुनासो गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्माले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्तिको निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेताले भाषण मात्रै गर्ने, किसानले खेती नगर्ने, कर्मचारीले काम नगर्ने प्रवृत्तिविरुद्ध जागृति अभियान चलाउनुपर्छ । बजेट पूर्णरुपमा कार्यान्वयन गर्नुपर्छ ।”
उहाँले ठूला कार्यक्रमलाई जोड दिएर यथेष्ट बजेट उपलब्ध गराउन माग गर्नुभयो । माओवादी केन्द्रका कमला रोकाले आधा धर्ती र आधा आकाश ढाकेका महिलाको हितमा बजेट आउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “ आर्थिक समृद्धिको नाराको व्यावहारिक कार्यान्वयन गर्ने खालको बजेट जरुरी छ ।
संसद्मा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रभावकारी र व्यावहारिक विषय समेटिएकाले त्यसलाई मूर्त रुप दिने बजेट जरुरी छ ।” एमालेकै भानुभक्त ढकालले समाजवादी अर्थव्यवस्थाको आधार तयार पार्नेखालको बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतका सरकारलाई आरोप लगाउने सरकारले हचुवाका भरमा बजेटका सिद्धान्त प्रस्तुत गरेको दोषारोपण गर्नुभयो ।
काँग्रेसकै दिलेन्द्रप्रसाद बडूले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
।


