![]()
जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते हुने जनकपुर भ्रमणको तयारी तीव्र पारिएको छ । जनकपुर उपमहानगरपालिका तथा प्रदेश २ सरकार सरसफाइ, भौतिक संरचना निर्माण, नगरको सौन्दर्यकरण र सुरक्षा व्यवस्था मिलाउन जुटेको छ ।
सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर आइतबारदेखि मोदीको नागरिक अभिनन्दन हुने स्थल रंगभूमि मैदान (बाह्रबिघा)मा प्रवेश निषेध गरिएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मोदी सुरक्षाका लागि झन्डै १० हजार सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए । नेपाल–भारतको सीमामा साझा सुरक्षा रणनीतिअनुसार संयुक्त गस्ती तथा चेकजाँच सुरु गरिएको छ । नगरक्षेत्रमा झन्डै एकहजार सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अभिनन्दन कार्यक्रमका सहभागीलाई हेलमेट, झोला, मास्क वा अन्य कुनै प्रकारले अनुहार छोपेर प्रवेश गर्न दिइने छैन । पानीको बोतलसम्म भित्र लैजान निषेध गरिएको छ । प्रदेश सरकार तथा जनकपुर उपमहानगरपालिका मोदीको नागरिक अभिनन्दन समारोहलाई भव्य बनाउन ५० हजार मानिस सहभागी हुने अनुमान गरिएको छ । जनसहभागिता बढाउन प्रदेश सरकारले प्रदेशका आठ जिल्लामा एक/एकजना मन्त्री नै खटाएको छ ।
जनकपुर उपमहानगरपालिकाले प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई अभिनन्दन समारोहमा आमन्त्रण गरेको छ । मोदी भ्रमणलाई लक्षित गरेर बाह्रबिघाको खाल्टाखुल्टी पुर्ने तथा भित्री र बाहिरी पर्खाललाई केसरिया रंगले रंगाउने काम सुरु भएको छ । रामानन्दचोकदेखि अञ्चल अस्पतालसम्मको पर्खालमा मिथिला पेन्टिङ गर्ने र सिँगार्ने काम जारी छ ।
बाह्रबिघादेखि जानकी मन्दिरसम्मको ५ सय मिटर सडक कालोपत्रे भइरहेको छ । मोदी यही सडक भएर जानकी मन्दिर पुगेर विशेष पूजा गर्नेछन् । जनकपुर उपमहानगरपालिकाले मोदीलाई मैथिली भाषामा अभिनन्दन गर्ने निर्णय गरेको छ । मोदी वैशाख २८ गते बिहान ९ बजे जनकपुर विमानस्थल वा रंगभूमि मैदानमा अवतरण गर्नेछन् । उनी पटनाबाट हेलिकप्टरमा सीधै जनकपुर आउने कार्यक्रम छ । जानकी मन्दिरमा उनले विशेष पूजा अर्चना गर्ने कार्यक्रम छ ।
जानकी मन्दिर परिसरमा मोदीलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ ।


