![]()
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई ५ – ० ले हराएको छ । घरेलु मैदानमा आर्सनललाई फराकिलो जित दिलाउन पियर एम्रिक अबामेयाङले दुई गोल गरे । आर्सनलका लागि थप गोल एलेक्जेन्डर लाकाजेट्स, साड कोलासिनाक र एलेक्स इवोबीले समान एक एक गरे । प्रशिक्षक वेंगरले सिजनको अन्त्यसँगै आर्सनल छाड्दै छन् ।
इमिरेट्स स्टेडियममा खेलको १४ औं मिनेटमा अबामेयाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनायो । खेलको ४५ औं मिनेटमा लाकाजेट्सले आर्सनलको अग्रता दोब्बर बनाए । पहिलो हाफ २ – ० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गर्यो । खेलको ५४ औं मिनेटमा कोलासिनाकले आर्सनलको अग्रता तेब्बर बनाए । ६४ औं मिनेटमा इवोबीले गोल गर्दा आर्सनल ४ – ० ले अघि रह्यो । त्यसपछि खेलको ७५ औं मिनेटमा अबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ५ – ० को जित दिलाए ।
बर्नलीविरुद्धको जितसँगै आर्सनलले घरेलु मैदानमा प्रशिक्षक वेंगरलाई सुखद विदाई गरेको छ । खेलअघि वेंगरलाई गार्ड अफ अनर सम्मान दिइएको थियो । आर्सनलमा २२ बर्ष बिताएका वेंगरले गत शुक्रबार सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका थिए ।
घरेलु मैदानमा जित निकालेसँगै लिगको छैटौं स्थानको आर्सनलले ३६ खेलबाट ६० अंक जोडेको छ । पराजित बर्नली ५४ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।


