![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेविरुद्ध सरकारले कडा नीति लिने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सिंहदरबारमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आंतक मच्चाउनेहरुलाई नछोडिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा र कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई सरकारले कडा कारवाही गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताउनुभयो । ‘अव प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो’ प्रधानमन्त्री भन्नुभयो,‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं ।’
राष्ट्रिय सुरक्षा परिषद्ले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताउदै प्रधानमन्त्रीले सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षाका लागि भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताउनुभयो । नेपाली जाति तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाती भएको स्मरण गर्नुभयो ।
‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्दछ । भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुदैन’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धि धारणालाई समयानुकूल ढंगले अघि बढाउने तयारी गरेको बताउनुभयो । ‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं । दासता नस्विकारेका र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा रक्षा मन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल लगायतको उपस्थिती थियो ।


