![]()
एजेन्सी,बैशाख ।
उत्तर कोरियाले सैन्य चुनौती र दबाब दिइरहेको भन्दै अमेरिकाको आलोचना गरेको छ । अमेरिकी कदमबाट शान्ति कायम गर्ने प्रयासमा चुनौती थपिएको उत्तरको भनाइ छ । दुई मुलुकबीच ऐतिहासिक शिखर वार्ताको तयारी भइरहेको बेला उत्तरको यस्तो भनाइ आएको हो ।
उत्तर कोरियाली विदेश मन्त्रालयले आणविक हतियार नत्यागेसम्म प्रतिबन्ध नहटाउने भन्दै अमेरिकाले उकासिरहेको उल्लेख गरेको छ । निःशस्त्रीकरणबाट मात्र प्रतिबन्धलगायतका अरु दबाब हट्ने भन्दै वासिङ्टनले जनआवाजलाई गलत ढंगबाट अगाडि बढाइरहेको उत्तर कोरियाली विदेश मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले अमेरिकाले कोरियाली प्रायद्वीपमा सैन्यशक्ति परिचालन गरेर शान्ति र मेलमिलापको पक्षमा बन्दै गएको राम्रो वातावरण बिगारिरहेकोसमेत जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले केही हप्ताभित्रै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तर, उत्तर कोरियाको पछिल्लो भनाइबाट दुई मुलुकबीचको शिखर वार्ता सहज नदेखिएको विश्लेषण हुन थालेको छ ।


