![]()
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बामगठवन्धन सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको, प्रधानमन्त्रीले संवैधानिक निकायलाई समेत आफू मातहात राख्न थालेको लगायतका गतिविधि अधिनायकवादका उदाहरण भएको प्रष्ट्याए ।
उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन, अधिनायकवादको ।”
“शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन, काम गर्न सकेका छैनन् ।” देउवाले भने ।
ओली नेतृत्वको सरकारले अधिनाकयवाद लादन खोजे पनि कांग्रेसले त्यसलाई सफल हुन नदिने उनले बताए । सभापति देउवाले कांग्रेस प्रजातन्त्रको रक्षाका लागि लड्ने पार्टी भएकाले प्रजातन्त्रको मूल्य मान्यता मासिन नदिने प्रतिबद्धता जनाए ।


