![]()
बीबीसी । अष्ट्रेलियाका पूर्व उपकप्तान डेविड वार्नरले आफूमाथि लगाइएको प्रतिबन्धबारे अपील नगर्ने भएका छन् । वार्नरले दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान बल टेम्परिङको आरोपमा आफूमाथि लागेको प्रतिबन्ध स्वीकार गर्दै त्यसबिरुद्ध अपील नगर्ने भएका हुन ।
दुई साताअघि केपटाउनमा भएको टेष्टको दौरान बल टेम्परिङ गरिरहेको भिडियो सार्वजनिक भएपछि उपकप्तान वार्नर र कप्तान स्टिभ स्मिथ विवादमा मुछिएका थिए । भिडियोमा ब्याट्सम्यान क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरिरहेको देखिएको थियो ।
उक्त भिडियो सार्वजनिक भएपछि क्रिकेट अष्ट्रेलियाले बेनक्राफ्टलाई बल टेम्परिङ गर्न लगाएको भन्दै वार्नर र स्मिथलाई १२ महिनाको प्रतिबन्ध लगाएको थियो । यस्तै बेनक्राफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाएको थियो ।
वार्नर र स्मिथलाई १२ महिनाको प्रतिबन्ध लगाएपछि अष्ट्रेलिया क्रिकेट खेलाडी संघले भने क्रिकेट अष्ट्रेलियालाई प्रतिबन्धबारे पुनर्विचार गर्न अपील गरेको थियो । तर, वार्नरले आफ्नो सोसियल साइट ट्वीटरबाट आफूमाथि लागेको प्रतिबन्ध पूर्ण रुपमा स्वीकार गर्ने बताएका हुन् । यसअघि स्मिथले पनि प्रतिबन्ध स्वीकार गर्ने बताएका थिए ।


