![]()
काठमाडौ,चैत ।
सडकमा एकाधिकारको माग गर्दै आन्दोलनमा उत्रेका कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले आजदेखि यातायात सञ्चालन गर्ने भएका छन्। सरकारले अन्य यातायात समितिलाई अस्थायी रुट परमिट दिएर सञ्चालन गर्न थालेपछि उनीहरु पछि हटेका हुन् ।
आजदेखि बस सेवा सुचारु गरिने कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले बताए। उनले भनेः‘आजदेखि हाम्रो सेवा सुचारु भएको छ, २३ गते यातायात व्यवसायी महासंघको ३ नम्बर प्रदेश कमिटीले छलफलमा बोलाएको छ, २६ गते व्यवसायी महासंघले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। त्यसपछि थप निर्णय गर्नेछौं।’
काभ्रे र भक्तपुरका बस व्यवसायीहरुले १८ गतेदेखि २० गतेसम्म कोटेश्वर पूर्वको ग्रामीण भेगमा यातायात ठप्प पार्नुका साथै बुधबार कोटेश्वर पूर्वको बस सेवा पूर्णरुपमा बन्द गरेका थिए। नयाँ कम्पनी मयुर यातायातलाई बनेपासम्मको रुट इजाजत दिएपछि पुराना १३ वटा बस व्यवसायी समिति आन्दोलनमा उत्रेका थिए।
उनीहरुको आन्दोलनलाई चुनौती दिँदै यातायात व्यवस्था विभागले बुधबार साझा, सिटी मेट्रो तथा मयुरलाई धुलिखेलसम्मकै अस्थायी रुट अनुमति दिएको थियो। थप आन्दोलन गरेमा पुराना बस व्यवसायीहरुको रुट इजाजत नै खारेज गर्ने तयारी गरिएपछि उनीहरु पछि हटेका हुन् ।


