![]()
सर्लाही,चैत ।
सर्लाहीको बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहले विकास निर्माणको काममा व्यक्तिगत आर्थिक लाभको लागि आफू खुसी गर्न थालेको भन्दै निर्वाचित वडा अध्यक्ष र स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन् । तीन दिनदेखि कार्यालयको मुल गेटमा तालाबन्दी गर्नुका साथै रिले अनसन बसेपछि कार्यलयको सबै सेवा प्रभावित भएको छ ।
नगरपालिकाका मेयर सिंहले बलरादेखि हथिवलसम्मको नौ किलोमिटर पक्कि सडक निर्माण गर्न आफ्नै भार्इ पङ्कचकुमार सिंहलार्इ ८० लाख रुपैयाँको उपभोक्ता समितिको अध्यक्ष बनाएर एकलौटी काम गर्न खोजेको भन्दै वडा अध्यक्ष र स्थानीय बिरोधमा उत्रिएका हुन् ।
नगरपालिकाबाट हुने विकास निर्माणको काममा मेयरले आफ्नै नातागोता र भाइलार्इ उपभोक्ता समितिको अध्यक्ष बनाएर आर्थिक अनियमितता गर्न खोजेको संघर्ष समितिले दावी गरेको छ । नगरपालिकाले ८० लाख रुपैयाँको काम गर्दासमेत मेयरले वडा सदस्य तथा अध्यक्षलार्इ थाहा नदिएको उनीहरुको आरोप छ ।
मेयर सिंहले भने सडक निर्माणको काम सकिनु भन्दा पहिले नै अनियमितता भयो भन्नु वडा अध्यक्षहरुले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाए । उनले जनताको चाहना अनुसार आफूले विकास निर्माणको काम थालेको दावी गरेका छन् ।


