![]()
काठमाडौं । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ क्यापेलरले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेकी छिन् । सभामुखको कार्यालय सिंहदरबारमा भएको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुवै देशको संसदबीच ‘फ्रेन्डसीप ग्रुप’ स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताए।
भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वा्चित भएकोमा सभामुख महरालाई बधाई दिँदै स्वीट्जरल्याण्ड र नेपाल सम्बन्ध अझै सुमधुर बनाउनुपर्नेमा जोड दिइन्।
सभामुख महराले लामो विद्रोहलाई शान्तिप्रक्रियामार्फत् टुङ्गोमा पुर्याई देशको समृद्धिमा लागिरहेको बताए। महराले शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै खुसी व्यक्त गरे।
सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझैं सुमधुर बनाउन एक अर्कामा अनुभव आदान प्रदान गर्नुपर्नेमा जोड दिएकी थिइन ।


