![]()
बीबीसी । फिजीका प्रधानमन्त्री फ्र्यांक बाइनिमारामाले जलवायुमा आइरहेको विश्वव्यापी परिवर्तनका कारण आफ्नो मुलुकको अस्तित्व संकटमा परेकोे बताएका छन्।
जलवायु परिवर्तनका कारण आउने लगभग स्थिर खतरनाक चक्रवातका कारण प्रशान्त टापु राष्ट्र बाँच्नका लागि संघर्षरत रहेको उनले बताए । कडा मौसमका कारण फिजी ‘डरलाग्दो नयाँ युग’मा प्रवेश गरेकाले त्यसविरुद्ध तत्काल सामना गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्।
यही हप्ता फिजीको मुख्य टापु भिती लेभूमा आएको जोसी नामक चक्रवातले ल्याएको बाढीमा परी केही फिजियन नागरिकको मृत्यु भएपछि प्रधानमन्त्री बाइनिमारामाका यस्तो भनाइ आएको हो।
सन् २०१६ मा आएको एउटा चक्रवातका कारण फिजीमा ४४ जनाको मृत्यु भएको थियो भने देशको एक तिहाई आर्थिक उत्पादन ध्वस्त भएको थियो। यसै साताको सुरुवातमा आएको जोसी चक्रवातले ल्याएको बाढीका कारण चार जना फिजियन नागरिकको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
गत नोभेम्बर महिनामा जर्मनीको बोन सहरमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा प्रधानमन्त्री बाइनिमारामाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
पृथ्वीको मौसम समयसँगै लगातार परिवर्तन भइरहे पनि पछिल्ला केही वर्ष पृथ्वीको तापक्रममा अत्यन्तै तीब्र गतिमा वृद्धि भइरहेको छ।


