![]()
एजेन्सी । इंग्ल्यान्डविरुद्धको दुई खेलको टेष्ट सिरिज घरेलु न्युजिल्यान्डले जितेको छ । इंग्ल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम टेष्टमा ड्र खेल्दै न्युजिल्यान्डले सिरिज १ – ० ले जितेको हो ।
इंग्ल्यान्डले दिएको ३८२ रनको लक्ष्यसहित आफ्नो दोस्रो पारी थालेको न्युजिल्यान्डले पाँचौ दिन मंगलबार ८ विकेट गुमाएर २५६ रन जोड्दै खेल बराबरी गरेको हो । यसअघि अक्ल्यान्डमा भएको पहिलो टेष्टमा न्युजिल्यान्डले ४९ रनको जित निकालेको थियो ।
इंग्ल्यान्डले दिएको उच्च रनको लक्ष्यसहित दोस्रो पारी सुरु गरेको न्युजिल्यान्डले चौथो दिनको खेल सकिदा विना विकेटको क्षतिमा ४२ रन बनाएको थियो । ४२ रनबाट अन्तिम दिन खेल थालेको न्युजिल्यान्डले खराब सुरुवात गर्दै मात्र १६२ रन जोड्दा ६ विकेट गुमाएको थियो ।
न्युजिल्यान्डका इश सोधीले टिकेर खेल्दै कोलिन डी ग्रान्डहोमसँग मिलेर खेल बराबरीतर्फ धकेलेका थिए । सोधीले अविजित ५६ रनको योगफल तयार गरे । सातौं विकेटको रुपमा आउट भएका ग्रान्डहोमले ४५ रन बनाए । त्यस्तै न्युजिल्यान्डका लागि ओपनर टम लाथमले ८३ रन बनाए । इंग्ल्यान्डका स्टुवार्ड वोर्ड, मार्क उड र ज्याक लिचले समान २ – २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा अलआउट हुँदै ३०७ रन बनाएको थियो । पहिलो पारीमा इंग्ल्यान्डका जोनी बेरोस्टोले १०१ रनको शतकीय पारी खेलेका थिए । यस्तै न्युजिल्यान्डलाई पहिलो पारीमा २७८ रनमा अलआउट गर्दै दोस्रो पारी थालेको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३५२ रन जोड्दै पारी समाप्तिको घोषणा गरेको थियो ।


